जिल्लाको परिचय
जिल्लाको सामान्य परिचयः
रसुवा जिल्ला, बागमती प्रदेश अन्तर्गत पर्ने उत्तरी भाग चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको हिमाली जिल्ला हो। भौगोलिक बनौट, हावापानी, वनजंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातीहरूको बसोबास, रहन सहन, भेषभूषाका साथै जैविक विविधताको धनी यस जिल्लाको आफ्नै पृथक ऐतिहासिक महत्व रहेको छ । यो छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर बसेको धार्मिक एवं पर्यटकीय जिल्ला हो । देशकै तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहको लाङटाङ राष्ट्रिय निकुञ्ज, रामसार क्षेत्रमा सूचीकृत गोसाईकुण्ड ताल सिमसार क्षेत्र रहेको यस जिल्ला भौगोलिक, जैविक, साँस्कृतिक, धार्मिक र पर्यावरणीय हिसाबले सवल रहेकको छ ।
यस जिल्लाको नामाकरण सम्बन्धमा स्थानीय तामाङ भाषामा “र” को अर्थ “भेडाच्याङग्रा” र “सोवा” को अर्थ “चराउने वा राख्ने ठाउँ” भन्ने हुन्छ अर्थात प्रशस्त चरन क्षेत्र र भेडाच्याङग्रा पाइने ठाउँ भएकोले “रसोवा” भन्ने गरेको र स्थानीय बोलचालको भाषामा अप्रभंश भएर पछि रसुवा भनिन थालिएको विश्वास गरिन्छ ।
भौगोलिक अवस्थिति:
अक्षांश : २८ डिग्री ० मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री १५ मिनेट उत्तर
देशान्तर : ८५ डिग्री १५ मिनेटदेखि ८५ डिग्री ५० मिनेटपूर्व
क्षेत्रफल : १५१२ वर्ग कि.मि.
सिमाना : पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासँग सिमाना जोडिएको छ ।
सबभन्दा होचोस्थान : ६१४ मिटर
सबभन्दा अग्लोस्थान : लाङटाङ हिमाल ७,२२७ मिटर
सदरमुकाम : धुन्चे (१९५० मि.)
भौगोलिक बनावटको हिसावले उच्च हिमशिखर, नाङ्गा पहाड, भीर, पाखापखेरा, केही पहाडी एवम् बेंसी भू–भाग रहेको यस जिल्लालाई मुख्यतया तीन भाग/क्षेत्रमा विभाजन गर्न सकिन्छ ।
- हिमाली क्षेत्र
समुन्द्री सतहबाट ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र यस प्रदेशमा पर्दछ । पर्वतारोहण र ट्रेकिङको लागि महत्त्वपूर्ण मानिने यस क्षेत्रमा बर्षैभरि तापक्रम ऋणात्मक हुनेगर्छ । यस क्षेत्रमा गणेश हिमाल,


लाङटाङ हिमाल, लाङटाङ लिरूङ, यलापिक, लाङसिसा खर्क, साङजेन खर्क लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँ ढाकिरहने पर्वत श्रृखलाहरू पर्दछन् ।
- लेकाली क्षेत्र
समुन्द्री सतहबाट २५०० मिटरदेखि ५००० मिटरसम्मको उचार्इमा रहेको सधै हिउँदको मौसममा हिमपात हुने उच्च पहाडी भाग यस प्रदेशमा पर्दछ ।

विशेषगरी लाङटाङ उपत्यका, क्यान्जिङ उपत्यका, घोडातबेला, गोसाईकुण्ड, लौरीबिनायक, चन्दनवारी, माङचेत, सोमदाङ, नागथली, गञ्जला भञ्ज्याङ आदि यस प्रदेशमा पर्ने मुख्य स्थानहरू हुन । यस भेगका मानिसहरू मौसम अनुसार बसोबास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् भने भेडाबाख्रा, चौरी आदि पालन गर्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन रहेको छ ।
- पहाडी/वेंसी क्षेत्र
समुन्द्री सतहदेखि २,५०० मिटरभन्दा तल ४५७ मिटरसम्मको भू-भाग यस प्रदेश अन्तर्गत पर्दछ । वेत्रावती, पैरेवेंसी, स्याफ्रुवेंसी, फलाखु खोलाको किनार आदि नगन्य मात्रामा बेंसी परेका स्थानहरू भएतापनि मुख्य-मुख्य स्थानहरू पहाडी भू-भाग भएकोले स्थानीय जनजीवनमा पहाडी प्रभाव अत्यधिक रहेको छ । धुन्चे, गोल्जुङ, यार्सा, सरमथली, कालिकास्थान, लहरेपौवा, ठूलोगाउँ आदि यस क्षेत्रका प्रमुख स्थानहरू हुन । यहाँको जनजीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । अझैपनि खेतीपाती र पशुपालन यस जिल्लाका बासिन्दाहरूको मुख्य पेशा रही आएको छ ।
हावापानी
समुन्द्री सतहदेखि १,९०० मिटर माथिको उचाईमा लेकाली, ५,००० मिटरमाथिको उचार्इमा टुन्ड्रा हावापानी पार्इन्छ । उच्च हिमाली भेगमा धरातलीय विषमताको कारण हावापानी पनि विषम रहेको छ । बेंसीमा प्रायःउष्णदेखि समशीतोष्ण किसिमको हावापानी रहेको छ । मनसुनी वर्षा र लेकाली हिमाली वर्षा हुने भएकोले जेष्ठ महिनादेखि आश्विन महिनासम्म प्रशस्त वर्षा हुने, मौसम प्रायःबदली रहने गर्दछ । आश्विन, कात्तिक, फाल्गुण, चैत्र र वैशाख महिनामा मौसम निकै राम्रो र सफा हुने गर्दछ । विश्वव्यापी उष्णता, जलवायु परिवर्तनको कारणले हिमरेखामाथि सर्दै गर्इरहेको र परिवर्तित जलवायुअनुसार अनुकुलित हुन मानिस, जीवजनावर, वनस्पतिहरूलार्इ कठिन भर्इ जैविक विविधतामा समेत ह्रास आउन थालेको छ ।
नदीनाला, ताल तथा पोखरी
यस जिल्लाबाट बाहिर बगेर निस्कने नदीहरूमा त्रिशुली र फलाखु मुख्य छन् । त्रिशुलीको उद्गमस्थल प्रशिद्ध तीर्थस्थल गोसाँईकुण्ड हो । भोटेकोशी चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपाल प्रवेश गरी साविक गा.वि.स. टिमुरे, गोल्जुङ, स्याफ्रु, धुन्चे, हाकु, गत्लाङ, राम्चे, डाडाँगाउँ, ठूलोगाउँ, लहरेपौवाहुँदै बेत्रावतीबाट नुवाकोट जिल्ला प्रवेश गर्छ । भोटबाट आएको भोटेकोशी स्याफ्रुवेंसीमा लामटाङ खोलालाई आफूमा लीन गराउँदै धुन्चे गा.वि.स.को सिमाना त्रिशुली नदीको सँगमस्थलमा समाहित भएपश्चात त्रिशुली नदीको नामले प्रवाहित हुन्छ । लाङटाङ हिमालको हिमनदीको पानीबाट सुरू हुने लाङटाङ खोला ठाउँठाउँमा भीरपाखा, पखेरामा आफ्नो स्वरूप खोला, झरनाहुँदै भोटेकोशीमा बिलिन हुन्छ । यस्तै भगवान महादेवको यात्रा अवस्थामा पानीको आवश्यकता महशुस भएपछि बेतको लठ्ठी सृष्टि भएको बेतधाराबाट प्रवाह शुरू भएको फलाखु खोला जिल्लाको दक्षिणपूर्वी भाग यार्सा र सरमथलीहुँदै बेत्रावतीमा समाहित भएको छ । यस्तै अन्य खोलाहरूमा चिलिमे खोला, मैलुङ खोला, नेसिङ खोला, घट्टे खोला र अन्य स–साना खोलाहरू पनि असंख्य मात्रामा रहेका छन् ।
.jpg)
नेपालको रामसार क्षेत्रमा सूचीकृत १० सिमसार क्षेत्र अन्तर्गत पर्ने गोसाईकुण्ड धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण ताल हो । त्यस्तै अन्य तालहरूमा पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दुधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू यस जिल्लामा पर्यटकीय र धार्मिक आस्थाका केन्द्र हुन् ।
जैविक विविधता
टुन्ड्रा, शितोष्ण, समशीतोष्ण हावापानी र थोरै दूरीमा उचार्इको धेरै फरकपनले गर्दा यस जिल्लामा उष्णदेखि हिमाली भेगमा पार्इने विभिन्न किसिमका जीव तथा वनस्पतिहरू पार्इन्छन् । हावापानी र भू-बनोटको विविधताको कारण १००० भन्दा बढी प्रजातिको वनस्पती जसमध्ये २१ प्रजातिको रैथाने, ८०० भन्दा बढी प्रजातिको झ्याउ, ४६ भन्दा बढी प्रजातिको स्तनधारी जनावर, २५० भन्दा बढी प्रजातिको चरा, करिब ११ प्रजातिको सरिसृप तथा उभयचर लामटाङ राष्ट्रिय निकुञ्ज र यस जिल्ला वरिपरी पार्इन्छ । साल, खोटे सल्ला, चिलाउने, लालिगुराँस, उतीस जिल्लाको पहाडी तथा बेंसीहरूमा पार्इन्छ भने खस्रु, तालिसपत्र, भोजपत्र, गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, धुपी सल्ला, लाङटाङ लार्क, चिमाललगायत गुराँसका अन्य विभिन्न प्रजातिहरू, सुनाखरीका प्रजातिहरू लेकाली तथा हिमाली क्षेत्रहरूमा पार्इन्छ । फूल नफुल्ने बिरुवामा पर्ने पतझड कोणधारी लाङटाङ लार्क लाङटाङ उपत्यकामा मात्र पाइने यहाँको रैथाने वनस्पति हो । लौठ सल्ला, अतिष, कपासी फुल, पदमचाल, बिखुमा, निरमसी, जटामसी, विष/कालो विष, वनचाँप जस्ता औषधीजन्य संकटापन्न वनस्पतिहरू यस जिल्लाको सम्पत्ति हुन् ।
.jpg)
जैविक विविधताको धनी यस जिल्लाको अर्को चिनारी रेडपाण्डा (हाब्रे) हो । ४,८०० मिटरसम्मको उचार्इमा विशेषगरी लामटाङ क्षेत्रमा पार्इने यो जनावर नेपाल सरकारद्बारा संरक्षित जनावर हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ले संरक्षित जनावरको सूचीमा राखेको आसामी बाँदर, खैरो ब्वाँसो, हिउँ चितुवा, कस्तुरी मृग, तिब्बती थार त्यस्तै डाँफे, मुनालजस्ता संरक्षित पंक्षीहरू यस जिल्लाका अन्य आकर्षण हुन । यस क्षेत्रमा तिलहरी चरा, चाकाचुसक, वनचाहा, सुन गिद्ध, राज गिद्ध, जिवाहार महाचील, रणमत्त महाचील, नेपाल डिकुरे भ्याकुर लगायत विश्वमै संकटापन्न तथा लोपोन्मुख अवस्थामा रहेको १२ प्रजातिका चराहरू पनि पाईन्छ ।


हाडखोर, हिमाली गिद्ध, खैरो गिद्ध, लरवान, मधुहा, खोया हाँस, चखेवा, विजुला गैरौ, कालिजुरे हाँस, मणितुण्डक, कोङमा हिउँकुखुरा, हिमाली हिउँकुखुरा, हिमाली पिउराजस्ता चराका प्रजातिका कारण यस जिल्ला चरा अध्यायन अनुसन्धान तथा चरा पर्यटनको लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।
धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थलहरू
विभिन्न जातजाति, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवम् साँस्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, मठमन्दिर, गुम्बा, गढी, धामहरू रहेका छन । साविक स्याफ्रु गा.वि.स.स्थित गोसाईकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड तथा गत्लाङ गा.वि.स.स्थित पार्वतीकुण्ड, नुवाकोट र रसुवाको सीमावर्ती साविक गा.वि.स. लहरेपौवामा पर्ने उत्तरगयाधाम, नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने टिमुरे गा.वि.स.मा अवस्थित ऐतिहासिकस्थल रसुवागढी र गुप्तेश्वर महादेव, धैबुङ गा.वि.स.स्थित कालिकास्थान मन्दिर, लामटाङस्थित क्यान्जिङ गुम्बालगायतका अनेकौं धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिकस्थलहरू यस जिल्लामा रहेका छन ।


भू-उपयोग
टोपोग्राफिक नक्सा १९९४/९८ का अनुसार यस जिल्लाको कुल क्षेत्रफल १,५१९.३१ वर्ग कि.मि. र राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार १५४४ वर्ग कि.मि.रहेको छ । जसमध्ये झाडी क्षेत्र ६३.११ वर्ग कि.मि., १,५१२ वर्ग कि.मि., खेतीयोग्य जमिनको क्षेत्रफल ११९.१४ वर्ग कि.मि., जंगल ३८४.८८ वर्ग कि.मि., हिमनदी ९०.६८ वर्ग कि.मि., घाँसे जमिन १७५.४० वर्ग कि.मि., बरफ–चट्टान ०.५३ वर्ग कि.मि., बलौटे क्षेत्र ७.७५ वर्ग कि.मि., खेर गएको जमिन ६३५.५४ वर्ग कि.मि. र जल क्षेत्र ४२.२४ वर्ग कि.मि., हवाई मैदान ०.०४ वर्ग कि.मि. रहेको छ ।
प्रशासनिक विभाजन
जिल्ला – रसुवा
प्रदेश – बागमती
प्रतिनिधि निर्वाचन क्षेत्र – १
प्रदेश सभा निर्वाचन क्षेत्र – २
स्थानीय तह(गाउँपालिका) – ५ (गोसार्इकुण्ड गाउँपालिका, आामाछोदिङमो गाउँपालिका, नौकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, उत्तरगया गाउँपालिका )
गोसार्इंकुण्ड गाउँपालिका
क्षेत्रफल : ९७८.७७ वर्ग कि.मि.
जनसंख्या : ७७८८ जना
वडा संख्या : ६
केन्द्र : साविक स्याफ्रुवेशी गा.वि.स.को कार्यालय
धार्मिक तथा पर्यटकीय स्थल : लाङटाङ हिमाल, लाङटाङ लिरुङ, याला पिक, लाङटाङ उपत्यका, क्यान्जिन उपत्यका, गोसार्इकुण्ड, सूर्यकुण्ड, नागथली, लाङसिसा खर्क, गञ्जला भञ्ज्याङ ।

आमाछोदिङमो गाउँपालिका
क्षेत्रफल : ६८२.२३ वर्ग कि.मि.
जनसंख्या : ६६७३ जना
वडा संख्या : ५
केन्द्र : साविक गोल्जुङ गा.वि.स.को कार्यालय
धार्मिक तथा पर्यटकीय स्थल : पार्वतीकुण्ड, सोमदाङ, गत्लाङ गाउँ, माङचेत, साङजेन खर्क ।
नौकुण्ड गाउँपालिका
क्षेत्रफल : १२६.९९ वर्ग कि.मि.
जनसंख्या : १२,३४४ जना
वडा संख्या : ६
केन्द्र : साविक सरमथली गा.वि.स.को कार्यालय
धार्मिक तथा पर्यटकीय स्थल : नौकुण्ड
कालिका गाउँपालिका
क्षेत्रफल : १९२.५४ वर्ग कि.मि.
जनसंख्या : १०,११५ जना
वडा संख्या : ५
केन्द्र : साविक धैबुङ गा.वि.स.को कार्यालय
धार्मिक तथा पर्यटकीय स्थल : कालिका मन्दिर
उत्तरगया गाउँपालिका
क्षेत्रफल : १०४.५१ वर्ग कि.मि.
जनसंख्या : ८५५५ जना
वडा संख्या : ५
केन्द्र : साविक लहरेपौवा गा.वि.स.को कार्यालय
धार्मिक तथा पर्यटकीय स्थल : उत्तगयाधाम
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार रसुवा जिल्लाको एकीकृत जनसंख्या विवरण
- कूल जनसंख्याः ४६,६८९ (महिला २२,६५४, पुरूष २४,०३५) ।
- दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.७२ प्रतिशत देखिन्छ ।
- जनघनतव: प्रति वर्ग किलोमिटरमा ३० जना ब्यक्ति बसोबास गरेको देखिन्छ ।
- लैङ्गिकका आधारमा घर परिवार संख्या र जनसंख्याः
| क्षेत्र | घरपरिवारको संख्या | जन संख्या | ||
| जम्मा | पुरूष | महिला | ||
| रसुवा जिल्लाभर | 11,140 | 46,689 | 24,035 | 22,654 |
| आमाछोदिङमो गाउँपालिका | 1,664 | 6,673 | 3,480 | 3,193 |
| उत्तरगया गाउँपालिका | 2188 | 8,555 | 4,235 | 4,320 |
| कालिका गाउँपालिका | 2447 | 10,115 | 5,021 | 5,094 |
| गोसाईकुण्ड गाउँपालिका | 2038 | 7,788 | 3,973 | 3,815 |
| नौकुण्ड गाउँपालिका | 2794 | 12,344 | 6,209 | 6,135 |
| संस्थागत | 9 | 1,214 | 1,117 | 97 |
- लैङ्गिकका आधारमा घरधनीको विवरणः
| क्षेत्र | जम्मा | घरधनी | |||
| आफ्नै | भाडामा | संस्थागत | अन्य | ||
| रसुवा जिल्लाभर | 11,131 | 10,752 | 243 | 90 | 46 |
| आमाछोदिङमो गाउँपालिका | 1,664 | 1,619 | 29 | 12 | 4 |
| उत्तरगया गाउँपालिका | 2,188 | 2,160 | 22 | 3 | 3 |
| कालिका गाउँपालिका | 2,447 | 2,409 | 33 | 4 | 1 |
| गोसाईकुण्ड गाउँपालिका | 2,038 | 1,792 | 143 | 67 | 36 |
| नौकुण्ड गाउँपालिका | 2,794 | 2,772 | 16 | 4 | 2 |
- रसुवा जिल्लामा घरको संख्या र मुख्य प्रयोगः जम्मा १४,२८१ वटा घर संरचना रहेको छ, जसमध्ये मुख्यरुपमा आवासको लागि प्रयोग भएका घर १०,३९१ (७२.८ प्रतिशत) रहेको छ।
संख्या/ प्रतिशत
| जम्मा घर संख्या | आवासीय | व्यापार | सरकारी | शैक्षिक
| स्वास्थ्य जन्य
| उद्योग/ कलकारखाना
| बैंक तथा वित्तीय संस्था | संस्थागत
| होटेल तथा लज | गोठ/ धन्सार/ मतान | अन्य
|
| संख्या | 14,281 | 10,391 | 434 | 84 | 88 | 22 | 14 | 17 | 96 | 216 | 720 | 2199 |
| प्रतिशत | 100 | 72.8 | 3 | 0.6 | 0.6 | 0.2 | 0.1 | 0.1 | 0.7 | 1.5 | 5 | 15.4 |
- रसुवा जिल्लाबाट अक्सर विदेश बस्ने जम्मा जनसंख्या २,३०२ जना (पुरुष १,३२९ र महिला ९७३) र स्वदेश अनुपस्थित जम्मा ४,८३६ (पुरुष २,५३२ र महिला २,३०४) जना रहेका छन्।
- जातजातीको विवरणः
| क्र.सं. | जातजाती | जम्मा | पुरुष | महिला | कैफियत |
| कूल जम्मा | 46,689 | 24,035 | 22,654 | ||
| तामाङ | 32,127 | 16,228 | 15,899 | ||
| ब्राम्हण पहाडी | 6,211 | 3,198 | 3,013 | ||
| घले | 2416 | 1254 | 1162 | ||
| गुरुङ | 1,261 | 636 | 625 | ||
| क्षेत्री | 1,224 | 778 | 446 | ||
| नेवार | 861 | 476 | 385 | ||
| विश्वकर्मा | 840 | 434 | 406 | ||
| परियार | 549 | 284 | 265 | ||
| मगर | 528 | 299 | 229 | ||
| शेर्पा | 121 | 64 | 57 | ||
| सुनुवार | 55 | 28 | 27 | ||
| थारु | 49 | 41 | 8 | ||
| राई | 45 | 31 | 14 | ||
| यादव | 40 | 38 | 2 | ||
| घर्ती/भुजेल | 38 | 21 | 17 | ||
| ठकुरी | 33 | 21 | 12 | ||
| हजाम/ठाकुर | 25 | 15 | 10 | ||
| लिम्बु/याकथुङ | 24 | 15 | 9 | ||
| कलवार | 19 | 10 | 9 | ||
| ब्राम्हण तराई | 16 | 15 | 1 | ||
| मिजार | 15 | 14 | 1 | ||
| कुमाल | 13 | 11 | 2 | ||
| तेली | 12 | 12 | 0 | ||
| मुश्लिम | 11 | 10 | 1 | ||
| भोटे | 10 | 6 | 4 | ||
| माझी | 10 | 8 | 2 | ||
| अन्य | 80 | 59 | 21 | ||
| विदेशी | 56 | 29 | 27 |
- धर्म अनुसारको तथ्याङ्कः
| क्र.सं. | जनसंख्या | हिन्दु | बौद्ध | ईश्लाम | किराँत | क्रिश्चियन | प्रकृति | बोन | |
| जम्मा | 46,689 | 11,956 | 33,075 | 16 | 14 | 1606 | 19 | 3 | |
| पुरुष | 24,035 | 6,473 | 16,709 | 14 | 10 | 819 | 8 | 2 | |
| महिला | 22,654 | 5,483 | 16,366 | 2 | 4 | 787 | 11 | 1 | |

प्रमुख व्यापारिक नाका तथा केन्द्रहरू
यस जिल्लाका प्रमुख व्यापारिक नाका तथा केन्द्रहरूमा बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुवेशी, रसुवागढी टिमुरे आदि छन् । २०७२ को भूकम्पपछि सञ्चालनमा आएको रसुवागढी नाका हाल नेपाल-चीन जोड्ने एकमात्र व्यापारिक नाका हो । यस नाकाहुँदै दैनिक करिब १०० कन्टेनर आवतजावत गर्ने गर्छन् । काठमाडौं-रसुवागढी नाका जोड्ने दुर्इ लेनको सडक निर्माण हुँदैछ । यसले निकट भविष्यमै यो नाका नेपाल-चीन जोड्ने प्रमुख नाकाको रुपमा विकास हुने देखिन्छ ।
जलविद्युत
हार्इड्रोहवको रुपमा विकासहुँदै गरेको यस जिल्लामा सानाठूला गरी १२ भन्दा बढी जलविद्युत आयोजना निर्माणको चरणमा छन् । रसुवागढी जलविद्युत आयोजना १११ मे.वा., साञ्जेन (माथिल्लो) १४.८ मे.वा., साञ्जेन ४२.५मे.वा., माथिल्लो त्रिशुली '१' २१६ मे.वा., माथिल्लो त्रिशुली "3A" ६० मे.वा., माथिल्लो त्रिशुली "3B" निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै रसुवा-भोटेकोशी जलविद्युत आयोजना १२० मे.वा., मध्य त्रिशुली गंगा १९.४१ मे.वा., न्यामन्याम खोला ६ मे.वा., फलाखु खोला ५ मे.वा. जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढको छ । चिलिमे जलविद्युत केन्द्र २२ मे.वा. ले उत्पादन कार्य गरिराखेको छ भने मैलुङ खोला जलविद्युत भूकम्पको कारणले क्षति भर्इ सञ्चालन बन्द रहेको छ । यसरी हेर्दा आगामी केही वर्षहरूमै यस जिल्लाबाट ६०० मे.वा.भन्दा बढी जलविद्युत उत्पादन भर्इ प्रसारण लार्इनमा जोडिने देखिन्छ । यसले देशले भोगिराखेको उर्जा संकटलार्इ केहि हदसम्म समाधान गर्नेछ ।
